Logo

नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल ललितपुरमा तयार, छठ लगत्तै सञ्चालनको तयारी

ललित सन्देश २०८३ कार्तिक ८, १२:२६ PM
नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल ललितपुरमा तयार, छठ लगत्तै सञ्चालनको तयारी

ललितपुर । सामाजिक सञ्जालमा फोटो भिडियो भाइरल भएको नेपालकै पहिलो लिफ्ट सहितको पुल ललितपुरमा तयार भएको छ । चक्रपथको कुसुन्तीमा पैदलयात्रीको सुरक्षा र सहज आवागमनलाई प्राथमिकता दिँदै विकासको आधुनिक नमूना स्वरुप लिफ्ट सहितको आकाशेपुल निर्माण गरिएको हो । ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल छठ लगत्तै संचालनको तयारी भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । नेपालमै पहिलोपटक लिफ्टसहितको आकाशे पुल निर्माण सुरु गरिएको दाबी गरिएको यो संरचना सञ्चालनमा आएपछि सडक वारपार गर्न नसक्ने वा सिँढी चढ्न कठिन हुने व्यक्तिलाई विशेष सुविधा पुग्ने अपेक्षा गरिएको छ।

करिब चार करोड ६८ लाख नौ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। २०८० फागुनमा निर्माण सुरु भएको पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक समस्या तथा निर्माण प्रक्रियाका जटिलताले समय लम्बिएको हो। पछिल्लो विवरणअनुसार छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य छ। यद्यपि, उद्घाटनको निश्चित मिति सार्वजनिक भएको छैन।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले निर्माण सुरु गराउँदा यस क्षेत्रको सडक सुरक्षालाई महत्त्व दिएका थिए। महर्जनले कुसुन्तीको उक्त स्थानलाई जोखिमपूर्ण उल्लेख गर्दै अघिल्लो एक वर्षमा छ जनाले ज्यान गुमाएको बताएका थिए। उनले लिफ्टसहितको पुललाई बिरामी, अशक्त र ज्येष्ठ नागरिकले समेत प्रयोग गर्न सक्ने नमुना संरचनाका रूपमा अघि सारेका थिए।

पाटन अस्पताललगायत स्वास्थ्य संस्थामा आवतजावत गर्ने बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि यो पुल उपयोगी हुने अपेक्षा छ।

DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्