Logo

‘अर्नब’ चक्रवातको जोखिम: पाँच प्रदेशमा वर्षा, हिमाली क्षेत्रमा हिमपहिरोको चेतावनी

कात्तिक १२ देखि १४ गतेसम्म सतर्क रहन आग्रह, नारायणीदेखि कोसीसम्मका नदीमा जलसतह बढ्न सक्ने

ललित सन्देश २०८३ कार्तिक ९, ४:२७ PM
‘अर्नब’ चक्रवातको जोखिम: पाँच प्रदेशमा वर्षा, हिमाली क्षेत्रमा हिमपहिरोको चेतावनी

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चक्रवातको प्रभावबाट वर्षा, हावाहुरी, हिमपात र नदीमा जलसतह बढ्न सक्ने भन्दै कात्तिक १२ देखि १४ गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएको छ। यो चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनी भूभागमा प्रवेश गर्ने सम्भावना छ। त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन सक्ने प्राधिकरणले जनाएको छ।

चक्रवातको सम्भावित प्रभावले विशेषगरी कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने अनुमान छ। ती प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन भनिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ, हावाहुरी र मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ।

नदीमा बाढीको जोखिम, यात्रा प्रभावित हुन सक्ने

चक्रवातको प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने अनुमान गरिएको छ। वर्षाका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

सम्भावित खराब मौसमले सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्राधिकरणले सुझाव दिएको छ। आवश्यक अवस्था आएमा सवारी आवागमन बन्द गर्न सकिने र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी दिनुपर्नेमा समेत जोड दिइएको छ।

किसानदेखि पर्यटकसम्मलाई सावधानी अपनाउन आग्रह

सम्भावित वर्षाले कृषि उपजमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई धान काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न प्राधिकरणले आग्रह गरेको छ।

त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्यटकलाई मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ। विशेषगरी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सुझाव दिइएको छ।

जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न निर्देशन

प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरणका लागि संघीय मन्त्रालय तथा सम्बन्धित निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सुरक्षा निकायले पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनुपर्ने प्राधिकरणको सुझाव छ।

सम्बन्धित निकायले चक्रवातको सम्भावित प्रभावबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन र आवश्यक उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ। मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान तथा आधिकारिक चेतावनी नियमित रूपमा पछ्याउन प्राधिकरणले अनुरोध गरेको छ।

DH

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्