दसैँमा दुर्घटनाको कहरः १५ दिनमा १२४ को मृत्यु, मोटरसाइकल सबैभन्दा जोखिममा
काठमाडौं । दसैँमा घर फर्किने र घुमफिर गर्नेको चाप बढेका बेला सडक दुर्घटनाले १५ दिनमै १२४ जनाको ज्यान लिएको छ। असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर भएका एक हजार ३३९ सवारी दुर्घटनामा २ हजार ९८८ जना घाइते भएका छन्। दुर्घटनाको तथ्याङ्कले चाडपर्वमा सुरक्षित यात्राको चुनौतीलाई पुनः उजागर गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिका छन्। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने २ हजार ५५१ जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न देखिएका छन्। उक्त अवधिमा एक हजार ५५२ मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो र ७१ ट्रक तथा ट्याङ्कर दुर्घटनामा संलग्न भएका छन्।
प्रदेशगत रूपमा कोशीमा सबैभन्दा बढी ३९७ दुर्घटना भएका छन्। मधेशमा सबैभन्दा कम ८० दुर्घटना भएका छन्। काठमाडौं उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिममा १५० दुर्घटना भएका छन्।
गत वर्ष दसैँ अवधिमा एक हजार ४९२ दुर्घटना भएका थिए। यस वर्ष दुर्घटनाको संख्या घटे पनि मानवीय क्षति भने गम्भीर चिन्ताको विषय बनेको छ।
नियम उल्लङ्घनमै चालकको लापरबाही
प्रहरीले दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ चालकलाई कारबाही गरेको छ। तीमध्ये २ हजार ७९४ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, एक हजार ८८२ जना क्षमताभन्दा बढी यात्रु बोक्ने र ७४६ जना तीव्र गतिमा सवारी चलाउने चालक छन्।
चाडपर्वमा यात्रुको सुरक्षा र सहजताका लागि प्रहरीले देशभर ४०८ यात्रु सहायता कक्ष तथा अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरेको थियो।
दसैँ सकिए पनि तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै प्रहरीले दुर्घटना न्यूनीकरणका उपायलाई निरन्तरता दिएको छ। तर, दुर्घटनाको जोखिम घटाउन प्रहरीको निगरानीसँगै चालकको जिम्मेवारी, ट्राफिक नियमको पालना र यात्रु स्वयंको सचेतता पनि उत्तिकै आवश्यक देखिएको छ।

टिप्पणी लेख्नुहोस्