श्रमिक भर्ना विवाद सुल्झाउन नेपाल मलेसिया वार्ताको तयारी
काठमाडौं । मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रिया सहज, पारदर्शी र व्यवस्थित बनाउने विषयमा नेपाल सरकारले द्विपक्षीय वार्ताको पहल अघि बढाएको छ। श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका विषय समाधान गर्न नेपालले मलेसियासँग काठमाडौंमा संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी) बैठक प्रस्ताव गरेको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्र पठाउँदै बैठकका लागि सन् २०२६ नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ। मलेसियाको अनुकूलताअनुसार बैठकको अन्तिम मिति तय गरिने जनाइएको छ।
बैठकमा विशेषगरी विदेशी श्रमिक भर्नासम्बन्धी एफडब्लुसिएमएस (FWCMS) प्रणालीअन्तर्गत नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएका विषयमा छलफल हुनेछ। श्रमिक आप्रवासनसँग सम्बन्धित अन्य सवालमा पनि सहमति जुटाउने नेपालको तयारी छ।
नेपालले नयाँ व्यवस्था तय नहुँदासम्म हाल सञ्चालनमा रहेको भर्ना प्रणालीलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ। यसबाट श्रमिक भर्ना प्रक्रियामा अवरोध नआउने, प्रक्रिया अनुमानयोग्य रहने र वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई सहज हुने सरकारको अपेक्षा छ।
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउने विषय प्रमुख रूपमा उठाइनेछ। साथै, सन् २०१८ मा नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपत्र नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यहरूमध्ये एक भएकाले भर्ना प्रक्रियामा देखिने समस्या समाधान गर्नु श्रमिकको रोजगारी निरन्तरता र अधिकार संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
नेपाल सरकारले द्विपक्षीय संवाद र सहकार्यबाट विद्यमान समस्या समाधान गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले कूटनीतिक पहल अघि बढाएको जनाएको छ।

टिप्पणी लेख्नुहोस्