नेप्सेमा सामान्य गिरावट, ४ अर्ब माथिको सेयर किनबेच
दसैँको लामो बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बजार बन्द भएको छ। कारोबारको सुरुवाती चरणमा बजारमा केही हरियाली देखिए पनि अन्तिम प्रहरसम्म आइपुग्दा नेप्से परिसूचक रातो हुन पुगेको हो। चाडपर्वको विदापछि बजार खुल्दा लगानीकर्ताहरूको मनोबल र नाफा बुक गर्ने प्रवृत्तिले बजारमा केही उतारचढाव देखिएको विश्लेषकहरूको भनाइ छ।
यद्यपि, बजार घटे पनि कारोबार रकममा भने सन्तोषजनक उत्साह देखिएको छ। यस दिन ३४१ कम्पनीका १ करोड ३ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बजारमा ९९ वटा कम्पनीको सेयर मूल्य उकालो लाग्दा १७१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। घलेम्दी हाइड्रोपावर र शिवम् सिमेन्ट जस्ता कम्पनीहरूको उच्च कारोबार हुनुले लगानीकर्ताहरूको छनोट विशेष गरी केही निश्चित सेक्टहरूमा केन्द्रित रहेको देखाएको छ।

टिप्पणी लेख्नुहोस्