५६ साक्षी र प्रमाण प्रस्तुत गर्दै नरेश भट्टमाथि अभियोग पक्षको कडाइ
वासिङ्टन डिसी — अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियोग पक्ष (सरकारी पक्ष) ले अभियुक्त श्रीमान् नरेश भट्टविरुद्ध प्रमाण जुटाउन हरसम्भव प्रयास गरिरहेको छ। ममताको शव फेला नपरे पनि परिस्थितिजन्य र डिजिटल प्रमाणका आधारमा मुद्दाको सुनुवाइ चौथो सातामा अघि बढेको छ।
अदालती सुनुवाइका क्रममा अनुसन्धान अधिकारीहरूले घरको ग्यारेजमा भेटिएको फोहोरको डब्बा, शङ्कास्पद कपडाहरू र सीसीटीभी फुटेजलाई मुख्य प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। ग्यारेजबाट बरामद सामग्रीमा रासायनिक ‘ब्लुस्टार’ परीक्षण गर्दा रगतको सम्भावित उपस्थिति पुष्टि भएको वैज्ञानिकहरूले बताएका छन्। यद्यपि, बचाउ पक्षका वकिलहरूले उक्त परीक्षणलाई शतप्रतिशत अकाट्य प्रमाण मान्न नसकिने भन्दै चुनौती दिएका छन्।
सरकारी पक्षले मुद्दालाई बलियो बनाउन हालसम्म ५६ जना साक्षीहरूको गवाही लिइसकेको छ। नरेशले भने श्रीमतीको हत्या तथा शव फ्याँकेको आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी दोहोर्याएका छन्। शवविना नै अघि बढाइएको यो जटिल कानुनी प्रक्रियामा अदालतको अन्तिम फैसलालाई चासोका साथ हेरिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्