मिडिया हाउस अगाडि गाडी पार्किङ र पत्रकार गिरफ्तारीको घटनामा रास्वपाको कडा आपत्ति
काठमाडौँ — सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका कतिपय कदमहरू लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको भन्दै लगातार आपत्ति जनाउँदै आएको छ। साउन २८ गते अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर जस्ता प्रमुख मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान तथा नेपाली कांग्रेसका सभापतिको निवास अगाडि सवारी साधनहरू राखेर आवतजावत अवरुद्ध पारिएको घटनामा रास्वपाले तत्कालै सरकारको ध्यानाकर्षण गराएको थियो। रास्वपाका महामन्त्री विपिन आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र र निर्भीक पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सञ्चार गृहमाथि त्रास सिर्जना गर्ने कार्यको कडा आलोचना गर्नुभएको थियो।
उक्त घटनामा संलग्न सवारी साधनहरूको नम्बर (बा १२ च ८५४५, बा २ च १२५५ र बा प्रदेश ०१-०३४ च ८४८०) पहिचान गरी गृह मन्त्रालय र सुरक्षा निकायलाई बुझाइँदा समेत सरकारले कुनै ठोस कारबाही अघि बढाएन। त्यसैगरी, गत कात्तिक १४ (अक्टोबर ३०) गते सञ्चार गृहभित्रै छिरेर सुरक्षाकर्मीले पत्रकारहरूमाथि गरेको दुर्व्यवहार, पत्रकार विश्वमणि सुवेदी, शोभाकर बराल र धीरजबहादुर बस्नेतको गिरफ्तारीप्रति रास्वपाको आकस्मिक सचिवालय बैठकले कडा आपत्ति जनाएको थियो। रास्वपाले प्रहरी प्रशासनको यो कदम असंवैधानिक रहेको ठहर गर्दै गैरजिम्मेवार आदेश दिनेहरूमाथि छानबिन र कारबाहीको निर्देशन दिए पनि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले त्यसलाई बेवास्ता गरेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्