एनपिएलमा सट्टेबाजी गराएको आरोपमा ठमेलबाट एक भारतीय नागरिक पक्राउ
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण चलिरहेका बेला अवैध रूपमा सट्टेबाजी (बेटिङ) गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ ठमेलमा बसोबास गर्दै आएका भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल २०२६ का खेलहरू भइरहेको अवस्थामा केही व्यक्तिहरूले अनलाइन माध्यमबाट अवैधानिक रूपमा सट्टेबाजी गर्ने तथा गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी कूल ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको शंकास्पद वित्तीय कारोबार गरेको खुल्न आएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्