भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी नागरिक निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने
काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको हो।
निष्कासनमा पर्नेमा एक जना नाबालकसहित १० जना विदेशी नागरिक छन्। उनीहरूमध्ये पाँच जना संयुक्त राज्य अमेरिका, दुई जना ब्राजिल र तीन जना क्यानडाका नागरिक रहेको अध्यागमनसम्बन्धी विवरणमा उल्लेख छ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ (Mercy Development) नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका थिए। पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरूले भिसाको उद्देश्यसँग मेल नखाने गतिविधि गरेको पाइएपछि अध्यागमन कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
अध्यागमनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकले नेपाल प्रवेश गर्दा प्राप्त गरेको भिसाको प्रयोजनअनुसार मात्रै गतिविधि गर्न पाउँछन्। पर्यटक भिसामा आएका विदेशीले पर्यटन, भ्रमण तथा मनोरञ्जनजस्ता उद्देश्यमा सीमित रहनुपर्ने व्यवस्था छ। भिसाको प्रकृतिविपरीत काम गरेको पाइएमा जरिवाना, निष्कासन तथा निश्चित अवधिसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाउन सकिने कानुनी व्यवस्था छ।
यस प्रकरणमा सम्बन्धित विदेशी नागरिकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने र तीन वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो। उनीहरूलाई निष्कासन गर्ने निर्णयसँगै अध्यागमनसम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नेपालबाट बाहिर पठाउने व्यवस्था मिलाइएको जनाइएको छ।
निष्कासनमा पर्ने १० जनामध्ये एक जना नाबालकसमेत रहेकाले उनलाई छुट्टै निष्कासन नगरी आफ्ना आमाबुवासँगै नेपालबाट प्रस्थान गराउने निर्णय गरिएको छ।
नेपालमा विदेशी नागरिकको आवागमन तथा बसाइलाई व्यवस्थित गर्न अध्यागमन विभागले भिसाको प्रयोजनअनुसार गतिविधि भए–नभएको अनुगमन गर्दै आएको छ। पर्यटक भिसाको आवरणमा अन्य उद्देश्यका गतिविधि गर्ने विदेशी नागरिकमाथि कानुनअनुसार कारबाही हुने व्यवस्था छ।
यस घटनाले नेपालमा पर्यटक भिसामा प्रवेश गर्ने विदेशी नागरिकले भिसाको निर्धारित प्रयोजन र अध्यागमन कानुनको पालना गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्