तीनदिने 'अपिहिमाल पर्यटन उत्सव–२०८३' सकियो
दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित आधार शिविर (बेसक्याम्प) मा सञ्चालन भएको तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव–२०८३’ बुधबार भव्य रूपमा सम्पन्न भएको छ। कात्तिक १७ गतेदेखि सुरु भएको उत्सवमा प्राकृतिक सौन्दर्य, स्थानीय कला-संस्कृति, र साहसिक पर्यटनको प्रवर्द्धन गर्दै यस वर्ष कम्तीमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।
उत्सव समापनका अवसरमा चमेलिया नदी तटीय क्षेत्रको जैविक विविधता संरक्षण र जलवायु संकट सम्बोधन गर्न १४ बुँदे ‘जलवायु परिवर्तनसम्बन्धी अपिहिमाल घोषणापत्र–२०८३’ जारी गरिएको छ। घोषणापत्रमा हिमाली पर्यटन मार्गहरूलाई 'शून्य फोहोर' गन्तव्यका रूपमा विकास गर्ने, खानेपानी संकट समाधानका लागि 'एक गाउँ–एक सुरक्षित मुहान' अभियान सञ्चालन गर्ने र जलवायु न्यायको मुद्दालाई आगामी कोप–३१ सम्मेलनसम्म पुर्याउने प्रतिबद्धता जनाइएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले दुर्गम क्षेत्रको पूर्वाधार, पर्यटन र जनजीविका सुधारका लागि प्रदेश सरकारले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उत्सवका क्रममा आयोजित मैत्रीपूर्ण खेलकुदअन्तर्गत क्रिकेटमा धनगढी–११ ले अपि–११ लाई पराजित गर्यो भने भलिबलमा मालिकार्जुन टोली विजयी भएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्