कमलामाईमा ट्रकको ठक्करबाट स्कुटरमा आगलागी
सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरेमा ट्रक र स्कुटर आपसमा ठोक्किएर भएको दुर्घटनापछि भीषण आगलागी हुँदा दुवै सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा परी स्कुटरमा सवार एक दम्पती गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रक र रानीबासबाट सिन्धुलीतर्फ आउँदै गरेको १२७८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनालगत्तै दुवै सवारीसाधनमा अचानक आगलागी फैलिएको थियो, जसका कारण ट्रक र स्कुटर पूर्ण रूपमा जलेका छन्।
दुर्घटनामा स्कुटर चालक कमलामाई नगरपालिका–१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनका पति ४४ वर्षीय हेमराज बख्रेल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले घटनाको पुष्टि गर्दै घाइतेहरूको उद्धार गरी उपचार भइरहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्