मकवानपुरको भीमफेदीमा ईभी माइक्रो दुर्घटना
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी माइक्रोबस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै दुःखद मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरूको उद्धार कार्य तीव्र पारिएको छ। प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेर पीडित भएकाहरूमध्ये ५ जना पुरुष, ३ जना महिला र २ जना बालिका रहेका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पठाउने व्यवस्था मिलाएको छ।
दुर्घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन। साँघुरो तथा ओरालो पहाडी सडकमा तीव्र गति वा प्राविधिक गडबडीका कारण सवारीसाधन सडकबाट खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्