प्रधानमन्त्री शाहले तोडे कूटनीतिक परम्परा, कांग्रेसको असन्तुष्टि
काठमाडौँ — भारतको राजकीय भ्रमणका लागि आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले भ्रमणपूर्व राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू तथा राजनीतिक दलहरूसँग कुनै परामर्श नगरी स्थापित कूटनीतिक र संसदीय परम्परा तोडेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणअघि शीतल निवास पुगेर एजेन्डा र राष्ट्रिय हितबारे ब्रिफिङ गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री शाहले यसपटक राष्ट्रपतिलाई जानकारी गराएका छैनन्। यसअघि असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाँदा पनि उनले राष्ट्रपतिलाई जानकारी गराएका थिएनन्।
त्यसैगरी, विगतमा केपी शर्मा ओलीलगायतका प्रधानमन्त्रीहरूले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री र दलहरूसँग साझा धारणा बनाउने अभ्यास गरेकामा शाहले त्यसलाई समेत बेवास्ता गरेका छन्। यसप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मित्रराष्ट्रको महत्त्वपूर्ण भ्रमणअघि दलहरूसँग छलफल गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता दिनुपर्ने बताएका छन्। यद्यपि, कांग्रेसले विज्ञप्तिमार्फत भ्रमण सफलताको शुभकामना दिँदै सार्थक बनाउन सुझावसमेत दिएको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्