कटुवा पेस्तोल र गोलीसहित धनुषामा सिरहाकी महिला पक्राउ
ढल्केवर / धनुषा — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलमा अवैध हातहतियार लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक महिलालाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोल स्थायी घर भएकी ४० वर्षीया गंगावती महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले आज उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार महतोको साथबाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली बरामद गरिएको छ। शङ्कास्पद गतिविधिमा संलग्न देखिएपछि निगरानी र खानतलासीका क्रममा अवैध हतियार फेला परेको प्रहरीको भनाइ छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्