दार्चुलाको महाकाली नदीमाथिको मोटरेबल पुल तयार
दार्चुला — नेपालतर्फ दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेबल पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। भारत सरकारको ३२ करोड ९८ लाख भारतीय रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको १ सय १० मिटर लामो र दुई लेनको उक्त पुल तथा दुवैतर्फका पहुँचमार्गसमेत तयार भइसकेका छन्। यद्यपि, अन्तर्राष्ट्रिय सीमा नाका सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा सुरक्षा पूर्वाधार तयार नहुँदा पुलमा सवारीसाधन गुड्ने मिति अझै अनिश्चित बनेको छ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका अनुसार भारततर्फ सुरक्षा र चेकपोस्ट प्रयोजनका लागि अस्थायी संरचना निर्माण भइसकेका छन् तर नेपालतर्फ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका लागि आवश्यक संरचना बन्न सकेका छैनन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र नेपालतर्फ आवश्यक सुरक्षा तथा भन्सार संरचना निर्माणका लागि माथिल्लो निकायमा अनुरोध गरिसकिएको जानकारी दिए। समयमै सरकारी संयन्त्र व्यवस्थापन नहुँदा सुदूरपश्चिमको पहाडी भेगमा महाकाली नदीमाथि बनेको यो पहिलो मोटरेबल पुल उपयोगविहीन अवस्थामा रहेको छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्