प्रतिनिधिसभाका पाँच समितिको बैठक आज बस्दै
काठमाडौँ — सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गतका पाँचवटा विषयगत समितिको बैठक आज (मङ्गलबार) बस्दैछ। आज अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक तय गरिएको हो। ती बैठकहरूमा विचाराधीन विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकमाथि दफावार तथा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ।
बिहान ९ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ भने बिहान ११ बजे बस्ने अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ। यस्तै, बिहान ११ बजे नै बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्